माघी पर्वको सामाजिक र साँस्कृतिक महत्व

माघी पर्वको सामाजिक र साँस्कृतिक महत्व

सोमबार पौष २७ , २०७२

भागीराम चौधरी
बेलभार, बर्दिया

नेपाल बहु जातजाती धर्म भाषा र संस्कृतिले भरिएको देश हो ।  विविधतायुक्त एकताको प्रतिकको रुपमा चिनिएको नेपाल र नेपालीको आफ्नै मौलिकपन छ ।  जातजातीको आधारमा हाम्रा आफ्नै मुल्य र मान्यता बोकेको कला संस्कृति, संस्कार र परम्पराहरु रहेका छन । आज समाज त्यही मुल्यमान्यता बोकेको संस्कार र संस्कृति भित्र रहि रमाईरहेको छ । पुखौं देखि आत्मसात गर्दै आईरहेका ति सामाजिक परम्पराहरुलाई स्विकार गर्नु समाजको धर्मकर्म बनेको छ । आज बिश्व जगत आधुनिक तथा बैज्ञानिक युगमा प्रवेश गरेको छ । २१ औं शताब्दि सम्म आईपुग्दा बिज्ञानका थुप्रै चमत्कारीक बिकास भैसकेका छन् । जसले हामी मानव जातीकालागि बिश्व नै साँघुरिएको महसुस हुन्छ । हामीले चाहे वमोजिम बिश्वको कुनैपनि कुनामा आफ्ना जीवन र जिविकाका गतिविधीहरु गर्न सक्षम भैसकेका छौं । तरपनि युगौं देखि चल्दै आईरहेको आफ्ना सामाजिक संस्कार र संस्कृतिलाई भुल्नु समाज बिज्ञान विपरितको कार्य हुन जान्छ । किनकी हाम्रा संस्कार र परम्परा सामाजिक बिज्ञानको रुपमा परिणत भैसकेका छन् । 

यहाँका विभिन्न समुदायले मान्दै आएको परम्परा र संस्कृति जस्तै थारु समुदायको माघी पर्व पनि एक हो । यो पर्वको आफ्नै मुल्य र मान्यता रहेको छ । यो पर्वलाई थारु समुदायले धर्म संस्कार अनुसार आमाबाबुलाई भगवानको रुपमा ढोग दर्शन गर्ने गर्दछन । भने आफन्तजन साथीभाईहरुलाई पनि दर्शनभेट गर्ने गरिन्छ । र सांस्कृतिक रुपमा नाचगानका साथै सामाजिक न्याय कानुनको रुपमा पनि लिने गर्दछन । जसको प्रभाव थारु समुदाय वा क्षेत्रमा बसोवास गर्ने अन्य कुनैपनि समुदायका मानिसहरु अनविज्ञ नहोलान् । तर समय परिस्थिती अनुसार यस पर्वको ऐतिहासिकता र महत्वको बारेमा हरेक ब्यक्तिहरु त्यति धेरै जानकारी राख्दैनन् । किनकी समय सापेक्ष मानिसहरु यस पर्वको बारेमा पुष्टा हष्तान्तरणको प्रक्रिया तथा आत्मसात गर्ने तरिका परिर्वतन हुनुले यसको अर्थलाई हल्का बनाउने गरेको पाईन्छ । जे होस माघी पर्व थारु समुदायको धार्मिक तथा सामाजिक रुपमा ठूलो महत्व बोकेको तिहार हो । यो पर्वमा गाउँको नेतृत्व छनौट गरिन्छ । चेलीबेटीहरुसंगको सम्बन्ध कायम राख्न निस्राऊ (नुन चामल) दान दिने प्रचलन रहेको छ । सामाजिक निति नियम र योजना बनाउने गरिन्छ ।

आदिमकाल देखि चल्दै आएको “माघी पर्व अथवा माघ” खासगरी थारुजाती अथवा थारु समुदायले मनाउदै आएको पर्व हो । बिशेषगरी पश्चिम नेपालमा बसोवास गर्ने थारु समुदाय यसपर्वलाई बिशेष महत्वकासाथ मनाउने गर्दछन । आजकल राज्य ब्यवस्था परिवर्तनसंगै यो पर्वलाई राष्ट्रिय मान्यता प्राप्त भएपछि गैरथारु समुदायका सामाजिक कार्यकर्ताहरुबाट समेत यस पर्वलाई माघी मिलनको रुपमा शुभकामना आदान प्रदान गर्ने रुपमा सम्म यो पर्व मनाउदै आएको पाईन्छ । बर्षमा एकपटक आउने यो पर्व माघ महिनाको पहिलो दिन अथवा माघ १ गतेको दिनलाई मानिन्छ । साथै धार्मिक तथा ज्योतिस बिज्ञानको मान्यता अनुसार सुर्य कर्कट राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकोले नेपालीमा यस दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । यस दिनदेखि घाम अथवा गर्मी मौसमको शुरुवाट तथा जाडो मौसमको बिदाई हुने बिश्वास गरिन्छ । 

परम्परा अनुसार “माघी” को आगमन पौष महिनाको अन्तिम दिन रातीबाट शुरु हुन्छ । उक्त दिनमा खानपीनको लागि लगभग अनिवार्य रुपमा सुंगुर÷बंगुरको मासु काट्ने चलन छ । भने रात परेपछि थारु बस्ती बस्तीमा रातभरी नाचगान र ढुमरु गीत गाएर जाग्राम बस्ने गरिन्छ । जवान देखि वृद्ध सम्मका पुरुष ब्यक्तिहरु उक्त नाचगानका गतिविधीहरुमा सहभागि हुने गर्दछन । भने महिलाहरुले जाँडपानी दिएर नाच्ने मान्छेहरुको सेवामा निरन्तर हाजिर रहन्छन । त्यतिबेला गाईने गीत र नाचको आफ्नै रौनक हुन्छ । (जस्तै थारु समुदायमा समय अनुकूलका फरक फरक किसिमको प्रस्तुति र भाकामा नाच तथा गीतहरु गाउने गरिन्छ । ) रातभरको जाग्रामसंगै रातिको लगभग २ बजेदेखि अथवा भाले बासेपछि थारु समुदायका हरेक जसो इच्छुक पुरुषहरु नाचको ग्रुपसंगै नाच्दै गाउँदै नजिकको नदि अथाव कुनैपनि जलासयमा नुहाउन पुग्दछ । नुहाउँदा उनीहरुले नदिलाई दान गर्नेगरी हातमा पैसा अथवा मुद्रा लिएर पानीमा नाङ्गै दुबुल्की मारी नुहाउँदछन । त्यसपछि बाटोको मुल नाकामा तयार भएर बसेका गाउँको मान्यजन बरघर अथवा नाचेको घरको मुली मान्छेको हातबाट काँचो माछा र पिठोबाट बनेको सेटो टिका (सेटो टिका किन लगाईन्छ खोजीको बिषय हुनसक्छ) ग्रहण गरि घरतिर फर्कन्छन । उक्त प्रक्रिया बिहान सुर्य नउदाउन्जेल सम्म जारी रहन्छ । भने भक्तालुजनहरु घर फर्किदाको अवस्थामा उनीहरुबाट पैसा दान पाउन कन्या केटीहरु आफु लुकेर बाटो बाटोमा पानी भरेर कचौरा तथा अम्खोराहरु लामवद्ध रुपमा राखेका हुन्छन । बाटोमा राखिएका ति भाँडाहरुमा भक्तालुहरुले धार्मिक रुपमा आफुले इच्छ्याएको पैसा हाल्नु पर्ने हुन्छ । 

भक्तालुहरु घर फर्किसकेपछि केहीपनि नखाईकन आफ्ना दिदी बहिनीकोलागि घरको कूलदेवतालाई साक्षी राखी नुन र चामलको बिजोरा संख्यामा मुठी चामल (जसलाई थारुमा निस्राऊ भनिन्छ) निकाल्दन  । र छिमेकी तथा गाउँका इस्टमित्रहरुको घरघरमा गएर आफन्तजन तथा मान्यजन र साथीभाईहरुलाई दर्शन ढोग गर्ने गर्दछन । त्यसपछि उक्त निस्राऊ घरको कुनैपनि सदस्य बिहान चेलीबेटीको घरमा गएर दिने गरिन्छ । सोही दिनलाई बास्तवमा माघी पर्वको रुपमा लिईन्छ । सो दिन गाउँघरका अधिकांस मानिसहरु मघौटा नाच नाच्ने गर्दछन । सिंगो समुदाय आ—आफ्नो दौतडी अनुसार ग्रुप ग्रुपमा मिलेर नाच्दछन । भने नाच्ने क्रममा दक्षिणा लिनेदिने तरिका पनि अलिक भिन्न हुने गर्दछ । जस्तै नाच्ने मान्छे (नचनियाले) कला प्रर्दशन गरी उल्टो ढाँड गरेर आँखाको परेली र मुखले पैसा टिप्ने गर्दछन । भने पैसा दान गर्ने ब्यक्तिले आफ्नो हैसियत अनुसार पैसा लुटाउने गर्दछन । यसरी एकातिर रमाईलो नाचगान भैरहेको हुन्छ भने अर्कोतिर सोही दिन गाउँको कुनैपनि घरमा मिठामिठा गुलिया जाँड मागेर खान सम्पूर्ण सर्वसाधारणलाई छुट गरिएको हुन्छ । पहिले पहिले त कसको घरमा कस्तो स्वादको जाँड छ भन्ने कुरा प्राय सबैलाई थाहाँ हुन्थ्यो ।

हर्ष र उमंगको रौनक सकिएपछि भोलीपल्ट सामुहिक रुपमा गाउँको सामाजिक ब्यवहार र कार्यहरुको लेखाजोखा तथा खोजीनितीको लागि बखेरी (गाउँ जनभेला) बस्ने गरिन्छ । किनकी माघी पर्वलाई थारु समुदायले योजना तथा नयाँ बर्षको रुपमा पनि लिने गर्दछन । कुनैपनि नयाँ कामको थालनी यहि दिन अथवा यहि महिना भित्रबाट गरेमा अन्य ब्यवस्थापनको पक्षपनि सोंचेको जस्तो हुन्छ । त्यसैगरी गाउँ बरघरको छनौट, चौकीदार र चिरक्या÷गुरुवा पनि यहि अवधि भित्र निरन्तरता दिने वा नयाँ राख्ने भन्ने निक्र्यौल गरिन्छ । साथै कुनै घरको ब्यक्तिगत तथा पारिवारिक लेखाजोखा र किसन्वा÷घरमुलीको हेरफेर पनि प्राय सोही अवसरमा गर्ने चलन रहेको छ । त्यसैले पनि माघी पर्व सामाजिक न्याय, योजना तथा कानुुन र शासनको थालनी गर्ने पर्व पनि हो । लगभग यस प्रकारको खोजविन गर्ने प्रक्रिया पुरै माघ महिना सम्म हुने गर्दछ । सामाजिक रुपमा कमैया कमलहरी राख्ने र छुटाउने समय पनि यहि हो । नेपाल सरकारले कसैलाई कमैया कमलहरी तथा दासदासी बनाउँन नपाउने ब्यवस्था गरेको छ । तर यस भन्दा पहिले मानव वेचविखन सरहको कसैको घरमा कमैया राख्ने नराख्ने निर्णय पनि सोही माघी अथवा माघ महिनालाई कुर्नु पर्दथ्यो । त्यसैले पनि यो पर्वलाई मुक्तिको दिनको रुपमा समेत बुझ्ने गर्दथे । 

विगत लामो समय देखि दासताको जीवन ब्यतित गरिरहेका थारुजाती यतिबेला मुक्तिको अनुभुति सहित परिवारको सम्र्पकमा आउने र सुखदुख सातासात गर्ने गर्दछन । स्वास्थ्यको दृष्टिकोणले मिठा मिठा परिकार खाने तरुल माछा मासु र जाडोसंग लड्न सक्ने परिकारले यो पर्वको थप महत्व छ । अहिले परिस्थिती बदलिएको छ भने क्षेत्र अनुसार थारु समुदायले माघीलाई मनाउने कार्यमा फरकपना आएको देखिन्छ । कसैले माघीलाई रमाईलो पर्वको रुपमा मात्र लिने गर्दछन । बिशेषगरी यूवा पिंढीले यूवा क्लबहरु मार्फत आर्थिक संकलन र रमाईलो गर्ने गर्दछन भने थारु संस्कृति लोप हुनसक्छ भनि माघी पर्वलाई खुल्ला मच्चहरुमा र जनसभाहरुमा संस्कृति संरक्षण तथा प्रचार प्रसारमा परिणत गरिएको छ । सामाजिक र राजनितिक कार्यको अवसरको रुपमा मात्र यो पर्वको बिकास गर्ने हो भने माघी पर्वको मौलिकता हराएर जान सक्छ । साथै धार्मिक, साँस्कृतिक तथा परम्परागत महत्वलाई अपचलन गरी माघी मनाउँदा भावि सन्ततिले फरक अर्थको रुपमा लिनेछन् । किनकी हामीले जाँड रक्सी खानपिन गर्ने र नाचगान गर्नेलाई मात्र महत्व दिएमा र धार्मिक प्रचलन तथा क्रियाकर्मलाई छोड्दै गएमा यो पर्व इतिहासमा मात्र सिमित रहनेछ । वास्तवमै यो पर्व सामाजिक रुपमा थारुजातीको स्वतन्त्रता र मुक्तिको दिन, नयाँ योजना निर्माण र नेतृत्व छनौट गर्ने, चेलीवेटीसंगको सम्बन्ध प्रगाढ बनाउने र एकआपसमा आर्शिवाद लिन र दिने दिनको रुपमा लिने परम्परालाई संरक्षण गर्ने हो । भने यो पर्वको महत्वलाई अझ फराकिलो पार्नकोलागि राष्ट्रिय तहमा स्थापित गर्नुपर्छ । जसकालागि सकारात्मक सामाजिक कानुन र सकारात्मक पुराना संस्कार र संस्कृतिको जगेर्नाकालागि ब्यापक प्रचार प्रसार हुनेगरी गर्नुपर्छ । र राज्यद्धारा पर्व मनाउने मनाउने गरेमा बास्तविक अर्थमा यसको संरक्षण हुनेछ ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt