कसरी भयो ? कमैया प्रथाको विकास

कसरी भयो ? कमैया प्रथाको विकास

आइतबार भदौ २० , २०७२

मानबहादुर चौधरी,
श्रमजीवी अर्थमा रहेको कमैया शब्द भूदासमा परिभाषित र कमैया बाँधा मज्दुर प्रथाको रुपमा शुरुवाट कहिले देखि कसरी भयो ? भन्ने कुरा थाहा पाउन इतिहाँसका तथ्य कोट्याउन आवश्यक छ । नेपालमा शाह वंशीय नेपाल एकिकरण भनौ अथवा गोर्खा राज्यको विस्तार लगत्तै वि.स. १९०३ मा उदय भएको एकतन्त्रिय राणा शासन र त्यसको अभ्यासले अधिकाश गरिब थारु जातिका परिवारलाई कमैयाको रुपमा बस्न पर्ने अवस्था सृजना गरियो । कालान्तरमा उनीहरुको जीवन चलाउनको लागि स्रोत बन्द गरी काम दिएको मालिक बाटै दिएको ऋण लिन बाध्य बनाइयो । परिश्रमको तुलनामा पारिश्रमिक न्युन मात्र दिने । थारु जातिले जोतभोग गर्दै आएको मलिलो खेती योग्य जग्गा बिर्ता र मौजाको नाममा कानुनी रुपमा आफ्नो नाम गराई उनीहरुलाई जग्गा बिहिन गराइएको अभ्यास इतिहाँस साक्षी छ । थारु जातिको जीवनको मुल आधार जमिन हो । उनीहरुले आदीमका देखि नै सामाजिक प्रथाको रुपमा रहेको आफ्नै बरघर प्रणाली अन्र्तगत आफुले सकेको जमिन जोति अन्न फलाउने र पशुपालन गर्ने परम्परागत पेशा अपनाई अघि बढी रहेको थिए । उनीले कागजी रुपमा लिखत बनाई जमिन कब्जा गर्ने चलन र अभ्यास थिएन । जसले जति जोत्न सक्यो उसको त्यति नै जग्गा हुन्थ्यो । सोही समयमा भारतमा उपनिवेश गरि शासन गरिरहेको अंग्रेजले नेपाललाई पनि आफ्नो अधिनमा लिएर आफ्नो स्वार्थ अनुकुल चलाउन गरेको विस्तारवादी नितिले नेपाली शासकहरुले अस्वीकार गर्दा भएको युद्धको क्रममा नेपालले पश्चिम तराई जिल्ला दाङ्ग, वाँके बर्दिया, कैलाली कञ्चनपुर गुमाउन पुग्यो । 
‘बेलायतद्धारा सन् १८६० मा नेपाललाई दाङ्ग जिल्लामा अवस्थित राप्ती नदिको पश्चिममा पर्ने तराईको क्षेत्र–जुन नयाँ मुलुक भनेर चिनिन आयो । नेपालको सैनिक सहयोगको बदलामा फिर्ता गरिएको थियो । राजा राजेन्द्रद्धारा बर्दिया जिल्लाको पुरै भाग समेत यसको क्षेत्रको आधा हिस्सा प्रधानमन्त्री जंगबहादुर राणालाई आफुले कर उठाउन पाउने भूमिका रुपमा उपहार दिइएको थियो । राजस्व तथा भौगोलिक प्रभाव दुवैमा बृदि गर्ने प्रयास स्वरुप त्यसपछि जंगबहादुर राणाले आफ्ना परिवार तथा परिचितहरु माझ कर संकलन गर्ने अधिकार दिए र तिनिहरुले भूमि माथिको स्वामित्व माथि बढ्दो मात्रामा दाबी गर्दै गए ।

सन १९५० को दशकमा तराईमा सुरु गरिएका औलो उन्मुलन सम्बन्धी आयोजनाहरु पश्चात त्यहाँ मुख्यगरी विशिष्त शासक वर्गसंग जात, भाषा तथा संस्कृतिका आधारमा निकट रहेको उत्तरी पहाडका उच्च जातका मानिसहरुको ठूलो सङ्ख्यामा राज्यद्धारा प्रोत्साहित गरिएको बसाईसराई भएको थियो । साथै कमजोर आर्थीक अवस्था भएका आप्रवासीहरु पहाडी क्षेत्र, तराईका अन्य जिल्ला र भारतबाट सो जिल्लामा प्रवेश गरे । चेतनाको अभाव, ऋण दिने जालीपूर्ण प्रचलन, भ्रष्ट्राचार, न्यायको पहुँचको अभाव, तथा राज्यधिकारीहरुद्धारा भेदभावको माध्यमबाट थारुहरु ठूलो मात्रामा उनीहरुको परम्परागत भूमिहरुको स्वामित्वबाट बेदखल गरिएका थिए । धेरै भूमि माथिको नियन्त्रण अल्पसख्यक उच्च जातका आप्रवासीहरुमा स्थानान्तरण भयो । यसरी उनीहरु जमिन्दार भए । कृषि वा अन्य प्रकारका मज्दुरलाई काममा लगाउने अलि सम्पन्न भूमि मालिकहरुलाई स्थानीय रुपमा जमिन्दार भनेर चिनिन्छ । अधिकांश थारुहरुको अवस्था मोहि(अधियावाला) ज्यालादारी मज्दुर अथवा कमैया(बाँधा मज्दर) का रुपमा झ¥यो । सरकार तथा राजनितिक मा प्रतिनिधीत्वको अभाव, भाषाको अवरोध तथा राज्यका सुरक्षा तथा शिक्षा लगायतका सेवाहरु माथिको पहूँचको अभावले गर्दा थारुहरुको सीमान्तकरण अझ बढेको थियो ।’                                      
राणा प्रधानमन्त्री जंगबहादुर हुनु अगाडी थारु जातिहरु पोत प्रथा अन्र्तगत कृषि पेशा अगाडी बढाएका थिए । जव जंगबहादुरले नयाँ मुलकु भनेर चिनिने दाङ्ग, वाँके बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका लाटिकोली र उत्तरगंगा गाविस क्षेत्रमा कर उठाउने अधिकार प्राप्त गरे । उनले मौजा र बिर्ता प्रथा चलाए । मोजा र बिर्ता पाउनबाट बन्चित भएका र रिसाएका आफन्तलाई केही गाउँ क्षेत्र दिएर जमिन्दारको रुपमा स्थापित गरे । यसै प्रथाले नै थारु जातिलाई उनीहरुले सदियो देखि जोतभोग गर्दै आएको जमिनबाट बेदखली गर्ने कार्यको शुरुवाट भयो । राणा शासकहरुले मौजा र बिर्ताको नाममा थारु किसानहरुले जोतभोग गर्दै आएको जमिन भाईभारदारलाई बाँडे । उक्त समयमा तराईमा औलोको प्रकोप अत्यधिक रहेकोले उनीहरु आफै आएर जग्गा भोग चलन गर्न सक्ने अवस्था थिएन । त्यही कारण उनीहरुले कोठारको रुपमा आफ्नो मान्छे पठाएर जग्गा छुट्याउने र कर उठाउने कार्यलाई अगाडी बढाएका थिए । मौजा र बिर्ता वालाहरुले थारु जातिबाट जग्गा त खोसे तर आफैले जोतभोग गर्न नसक्ने अवस्था भएकोले सतकुर ( जम्मा उत्पादनलाई सात भाग लगाएर ६ भाग जोत्नेले लिने र एक भाग जग्गा मालिकले लिने) चलन लगाई तीनै थारुहरुलाई जग्गा जोत्न दिए । जसमा जोत्नेले ६ भाग र मालिकले १ भाग अन्न लिने गर्थे । उक्त एक भाग सरकारलाई कर तिर्न भनेर लिने गर्थे । बिस्तारै मोजा र बिर्ता वालाहरुले जग्गा जोत्ने किसानलाई दिने अन्नको भाग घटाउँदै छकुर, पँचकुर, चौकुर, तिकुर, अधिया गर्दै लाहुरे पँचकुरसम्म पु¥याए । लाहुरे पँचकुर भनेको जग्गा मालिकलाई तीन भाग र जग्गा जोत्नेलाई दुई भाग अन्न प्राप्त गर्दथे ।
यसरी थारु किसानले जग्गा पसिना बगाएर उत्पादन गरेको अन्न प्राप्त गर्ने भाग घट्दै गएपछि उनीहरुको परिवारलाई खानलाउन र अन्य आवश्यकता पुरा गर्न समस्या पर्न थाल्यो । कमैया प्रथाका भुक्तभोगि तथा आन्दोलनका अगुवाहरुले कमैया बस्ने अभ्यास वि.सं. १९८० देखि शुरु भएका मान्छन् । यो क्रम बढ्दै २०२१ सालको भुमिसुधारले ब्यापक रुपमा थारुहरुलाई भुमिबाट बेदखली ग¥यो । सोही वेला आएको धर्मभकारीले झन ऋणमा दुवायो । भुमिबाट कानुनी रुपमै बेदअली गरिनु । धर्मभकारीमा अन्न बचत गर्न नसक्नु साथै मालिक र धर्मभकारी बाट खानलाई लिएको  अन्न र सोको ब्याज तीर्न नसक्ने भएपछि अत्यधिक थारु जातिका मानिस बाध्य भएर कमैया बस्न पर्ने अवस्था आएको हो । २०२१ देखि २०२७ साल अवधीमा दाङ्ग जिल्लाबाट वाँके, बर्दिया, कैलाली र कञ्चलनपुर जिल्लामा थारु किसानहरुको बसाईसराई ब्यापक रुपमा भएको थियो । जमिन्दारहरुले आफै पनि दाङ्गमा कमैया बसेका थारु कमैयाहरुको सौकी ऋण तिरिदिएर खरिद गरी आफ्ना जग्गा जोत्न ल्याएका थिए ।
तराईको जिल्लामा अहिलेसम्म चार पटक जग्गा ओटा नापि भएको थाहा पाउँन सकिन्छ । पहिलो पटक आकाशे नापि र नक्साकंन भएको जुन हेलिकप्टरबाट आवाधी र जंगल क्षेत्र निरिक्षण गरि गरिएको थियो । यसरी गरिएको नापिको आधारमा शासक वर्गले आफ्ना भाईभारदारहरुको नाममा विर्ता बाँडेका थिए । त्यही विर्तावालाहरुले  पठाएका कोठारीले दोस्रो पटक सम्बन्धीत ठाउँमै पुगि आकाशे नापि बाट गरिएको नक्सालाई चार किल्ला छुट्याउने कार्य गरे । पहिलो नापीको बारेमा आफ्नै तरिकाले कृषिमा आधारित परम्परागत पेशा गरि जीवन यापन गर्दै आएका थारु जातिलाई थाहा नै थिएन । दोसो पटक गरिएको नापीले भने थारु जाति झसंग वनायो । पुस्तौ देखि जोतभोग गर्दै आएको जीवनको मुख्य आधार जमिनलाई अरुले मेरो हो भन्दा उनीहरु अलमल्लमा परे । आफ्नो क्षेत्र र बस्तीमा यस अघि कहिल्यै पनि नदिखिएको नचिनेको ब्यक्तिले जग्गा आफ्नो भएको दावि गरि हस्तक्षेप गर्दा अशिक्षित, सोझा र कागजी लिखत, कानुन र राजनिति नबुझेका थारुहरुले कहि पनि प्रतिवाद गर्न सकेनन् । उनीहरुले उल्तै शर्तमा सोही जग्गा खनजोत गर्न सहमती भए ।  
‘बर्दिया जिल्ला लगायत पश्चिम नेपाल तराईका अन्य जिल्लाहरुमा जस्तै धेरै समय देखि जुन कमैया प्रथा विद्यमान थियो, त्यो औलो उन्मुलनपछि बसाई सरकारको भु–दासप्रथा नै थियो । यसलाई बाँधाप्रथा पनि भनिने गरिन्थ्यो ।  किनकी, कमैया प्रथामा प्रत्येक बर्षको माघे सक्रान्ती(माघी)को दिनमा भु–स्वामी वा जमिन्दारहरुले कसैलाई सपरिवार आफ्नो घरखेतको सम्पूर्ण काममा कमैया श्रम लगाउन कम्तिमा वर्ष दिनको निम्ती ज्यादैसस्तो दरमा खरिद गरिन्थ्यो । यो खरिद विक्रि ऋणी कृषि मज्दुर परिवारको पनि हुन सक्थ्यो । एक थरी कृषि मज्दुर जमिन्दार कहाँ नयाँ कमैयाको रुपमा र अर्काथरी एउटा जमीदारको कमैयाको रुपमा विनिमय हुन्थ्यो । कुनै जमीन्दारलाई आफु कहाँ  रहेको कमैया अब जरुरत नरहे उसले आफ्नो कमैया माथि थुपारिएको ऋणको रकम कुनै अर्को जमीन्दारबाट असुल गरेर कमैयालाई हस्तान्तरण गर्दथ्यो । एक पटक जमीन्दार कहाँ कमैया बसिसकेपछि त्यस माथि वर्षदिन भरी नै उसले तिर्न नसक्ने गरि धेरथोर जमिन्दारको ऋण लागिहाल्थ्यो । अनि ऊ शुरुमा एक वर्षका निम्ति मात्रै कमैया बसेको भए पनि वा प्रत्येक माघीको माघी देवानी (माघे संक्रान्तिको दोस्रो) दिनमा कमैया बस्ने वा छाड्ने अवसर प्रचलनका रुपमा रहेपनि ऊ माथि ऋणभार थुपारिएको कारण उसलाई मुक्तिको दिन विरलै आँउथ्यो । 
जमीन्दारको कमैया बस्नेको परिवारलाई जमीन्दारहरु कहाँ काम र कामको समयसीमामा पनि हुँदैन थियो । विहान ३÷४ बजे देखि राती ११÷१२ बजेसम्म जमिन्दार र कोठारको घरमा भाँडा माझ्ने, बढारकुढार गर्ने देखि खेत जोत्ने, गोड्ने, बाली काट्ने, थन्क्याउनेसम्म, पाल्तु पशुहरुको रेखदेख र स्याहार सुसार देखि जंगलपात गर्नेसम्म र चुल्हो चौका देखि वालवालीकासम्म र प्रौढ, प्रौढ देखि भर्खरका किशोर किशोरीहरुसम्म सबैले तिनिहरुको घरमुलीले कमैया बसेरबापत काम गर्नु पर्दथ्यो । जमीन्दारकहाँ कमैया बस्नेहरु प्रायशः को आफ्नो घरवास खेती गर्ने जग्गा हुँदैन थियो । तर अपवाद स्वरुप केहीको आफ्नो थोरै जग्गा भएपनि त्यसबाट जीवीका नचल्ने भएबाट उनीहरु कमैया बस्ने गर्थे ।’
यसरी थारु मुलका किसानहरुलाई परिबन्दमा पारी कृषिमज्दुरको रुपमा परिणत गरी बिस्तारै बाँधामज्दुर बनाई दास बनाईए । जुन राष्ट्रिय अन्तराष्ट्रिय कानुनले निषेध गरेको अवस्थामा पनि सामाजिक कुसंस्कारको रुपमा अभ्यासमा रहन पुग्यो । सरकारले कमैयाहरुको आन्दोलन गरेपछि मुक्त घोषणा गरेपनि पुर्ण रुपमा उचित तरिकाले पुनस्थापना गर्न सकेको छैन । 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt