ब्राउन सुगर सहित एक भारतीय पक्राउ

ब्राउन सुगर सहित एक भारतीय पक्राउ

बुधबार मङ्सिर १९ , २०७५


सरोज कामत  
बर्दिया ,१९ मंसिर
    बर्दियामा पछिल्लो समय प्रहरीको सक्रियाता बढाए सँगै ब्राउन सुगर सहित एक जना भारतीय नागरीक पक्राउ परेका छन् । भारतका बहराईच जिल्ला मोतिपुर थाना मिहपुरुवाका २५ बर्षिय विमलेश कुमार हरजन पक्राउ परेका हुन् ।
    जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले  मंगलबार दिउँसो ३ बजेको समयमा मधुवन नगरपालिका वडा नं७ बाट हरजनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार हरजनले विगत् ५ बर्ष देखि बर्दिया जिल्ला भरी नै  ब्राउन सुगर लगाएतका लागुऔषधहरु विक्री वितरण गर्ने गरेका छन् ।


 शंकास्पद रुपमा हिडिरहेको अवस्थामा रोकेर शरीर खान तलासी गर्दा ३० ग्राम ब्राउन सुगर फेला परेपछि उनलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए । उनका अनुसार करिब दुईलाख मुल्य बराबरको सो ब्राउन सुगरबाट ५ सय ५० जना व्यक्तीहरु प्रभावित हुने थिए ।

जिल्लाका विभिन्न स्थानमा आफ्नो सक्रियता बढाएपछि ५ महिनामा १७ जनालाई पक्राउ गरी कारबाही अगाडि बढाइएको समेत प्रहरी प्रमुख मैनालीले बताए ।


बर्दियाको खुला सीमाना भएका र लागू औषधको तस्करी हुन सक्ने आशंका गरिएको जमुनी, फुटाहा, मोहम्मदपुर, गुलरिया, मधुवन, खैरिचन्दनपुर र राजापुर नाकासँग जोडिएका स्थानहरूमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएपछि लागू औषध कारोबारीहरू पक्राउ पर्न थालेका छन ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ। ऐनमा २५ ग्रामदेखि १ सय ग्रामसम्मको लागूऔषध कारोवारीलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt